राहदानी, यात्रा अनुमतिपत्र र जापानमा जन्मेका वच्चाहरुको सम्बन्धमा प्रश्नोत्तर


प्रश्न: मेरो राहदानी नविकरण गर्नुपर्ने थियो, MRP को आवेदन गर्नुपर्ने थियो, त्यसका लागि के गर्नु पर्छ?

उत्तर: राहदानी आवेदन/नविकरण गर्नका लागि निम्नानुसारका कागजात सहित राजदूतावासमा आफैं आएर वा हुलाकबाट पठाएर आवेदन गर्न सकिन्छ।

१. कम्प्युटरबाट भरिएको फोटो सहितको राहदानी फर्म २ प्रति

२. हालको राहदानीको सक्कल र फोटो पेजको प्रतिलिपि १ प्रति

३. नागरिकताको सक्कल र प्रतिलिपि १ प्रति

४. सेवा शुल्क जापानी येन १८००० (जापानी येनको सटहीदरसंगै तलमाथि हुन सक्ने)

साथै, फर्म नमोडिइएको, कच्याककुचुक नभएको र फोल्डरमा हालेर आवेदन गर्नुपर्ने छ।

प्रश्न: मैले राहदानी आवेदन गरेको निस्सा के हुन्छ?

उत्तर: राजदूतावासमा आफैं आएर फर्म वुझाउनेहरुले फर्म स्वीकृत भएमा रसिद तुरुन्त पाउनु हुनेछ। हुलाकबाट फर्म पठाउनेहरुले MRP वनेर आएपछि MRP सहित फर्म भर्दा तिरेको रकमको रसिद पाउनु हुने छ।

प्रश्न: मैले MRP फर्म भरे पछि मेरो हालको राहदानी, नागरिकता कसरी फिर्ता पाइन्छ?

उत्तर: राजदूतावासमा आफैं आएर फर्म भर्नेहरुको राहदानी सक्कल र नागरिकताको सक्कल राहदानी फर्मको विवरणमा रुजु गरे पछि तुरुन्त फिर्ता पाइन्छ। हुलाकबाट फर्म पठाउनेहरुको राहदानी, नागरिकताको सक्कल MRP वनेर आएपछि MRP सहित दिइने छ।

प्रश्न: मेरो नागरिकताको प्रमाणपत्रको सक्कल छैन, म संग फोटोकपि मात्र छ, मैले यो भन्दा अगाडि २ पटक यही राजदूतावासबाट राहदानी लिइसकेको अव MRP आवेदन गर्न चाहन्छु, के गर्ने?

उत्तर: नागरिकताको सक्कल नभएमा तपाईको नागरिकताको प्रमाणपत्रको सत्यता नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाबाट राहदानी विभाग मार्फत वुझेर आएपछि मात्र MPP को आवेदन राजदूतावासले स्वीकार गर्दछ।

प्रश्न: म हुलाकबाट MRP फर्म पठाउन चाहन्छु। हुलाकबाट फर्म पठाउदा राहदानी फर्म पुगे नपुगेको, फर्म मिले नमिलेको कसरी जानकारी पाउन सकिन्छ।

उत्तर: राजदूतावासमा आउने ठूलो संख्याका पत्रहरुको जवाफ दिन व्यवहारिक कठिनाई पर्ने हुनाले हुलाकबाट फर्म भर्नेहरुको फर्म मिलेमा राजदूतावासमा राख्ने र नमिलेमा जुन माध्यमबाट फर्म प्राप्त भएको हो सोही माध्यमबाट फिर्ता दिइने छ। हुलाकबाट राहदानी फर्म पठाउने हरुले MRP वनेर आए पछि राजदूतावासबाट प्राप्त गर्न आफ्नो ठेगाना उल्लेख भएको खाम आफैले लेखेर MRP फर्म पठाउदा नै पठाउनु पर्ने छ।

प्रश्न: मेरो राहदानी हरायो, मैले MRP कसरी आवेदन गर्ने?

उत्तर: राहदानीको सक्कल हराएका आवेदकहरुले राहदानीको फोटोकपि, प्रहरी प्रतिवेदन सहित अन्य कागजात संलग्न गरी आवेदन गर्न सक्ने छन।

प्रश्न: मेरो राहदानी लुगा धुदा मेशिनमा परेर धोइयो/च्यातियो। मैले कसरी राहदानी आवेदन गर्ने?

उत्तर: त्यस्तो धोइएको/च्यातिएको राहदानी अन्य कागजात सहित आवेदन गर्ने।

प्रश्न: के राहदानी हराएको, च्यातिएको, कोरिएको, धोइएर बिग्रेकाहरुले थप शुल्क तिर्नुपर्ने हुन्छ?

उत्तर: राहदानी नियमावली, २०६७ अनुसार हराएको, च्यातिएको, कोरिएको, धोइएर बिग्रेका राहदानी आवेदकहरुले MRP आवेदन गर्दा दोव्वर दस्तुर तिर्नुपर्ने हुन्छ।

प्रश्न: मेरो राहदानीको म्याद सकिन अझ २ बर्षबाकि छ. मैले MRP आवेदन गर्न मिल्छ र?

उत्तर: राहदानीको म्याद समाप्त हुनु भन्दा समान्यतया ६ महिना अगाडि आवेदन गर्नुपर्ने हो। तर हालको हस्तलिखित राहदानीबाट २४ नोभेम्वर २०१५ भित्रमा MRP मा गईसक्नु पर्ने हुनाले तपाईले MRP आवेदन गर्न सक्नु हुनेछ।

प्रश्न: मेरो हस्तलिखित राहदानीको म्याद सन् २०२० मा सकिन्छ। म MRP को आवेदन गर्न सक्छु, सक्दिन?

उत्तर: International Civil Aviation Organisation (ICAO) का अनुसार हस्तलिखित राहदानी २४ नोभेम्वर २०१५ सम्म मात्र चल्ने भएको हुनाले समय छदै MRP को आवेदन गर्नु राम्रो हुन्छ।

प्रश्न: MRP फर्म कहा पाइन्छ छ? राहदानी सम्वन्धी अन्य विस्तृत जानकारी कहां पाइन्छ?

उत्तर: राहदानी फर्म राहदानी विभागको वेवसाइट www.nepalpassport.gov.np बाट डाउनलोड गर्न सकिन्छ। राहदानी फर्म, फर्म भर्ने तरिका, फर्म प्रिन्ट गर्ने तरिका, फोटोको साइज, मापदण्ड, गुणस्तर आदिको जानकारी वेवसाइट वाट प्राप्त गर्न सकिने छ। वा नेपाली राजदूतावास, टोकियोमा आफैं आएर प्राप्त गर्न सकिने छ। राहदानी फर्म नै मात्र www.nepalpassport.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ।

प्रश्न: के MRP आवेदन गर्ने फर्ममा मेरो पहिलेको फोटो प्रयोग गर्न मिल्दैन?

उत्तर: MRP को लागि उच्च गुणस्तरको फोटो चाहिने हुनाले सेतो पृष्ठभमिमा हालै स्टुडियोबाट खिचेको फोटो टांस गर्नुपर्ने हुन्छ। फोटोको साइज, पृष्ठभूमि आदिको वारेमा राहदानी विभागको वेवसाइटबाट जानकारी लिन सकिन्छ।

प्रश्न: के फोटोको कुनै साइजको मापदण्ड छ?

उत्तर : ICAO ले MRP को फोटोको लागि मापदण्ड विकास गरेको छ। जुन वेवसाइट www.nepalpassport.gov.np मा हेर्न सकिन्छ।

प्रश्न: राहदानी सम्वन्धी जिज्ञासाहरु टेलिफोनबाट पाउन सकिदैन?

उत्तर: राजदूतावासको कार्यवोझ, सिमित कर्मचारी संख्याका कारण राहदानी सम्वन्धी जानकारी फोनमा दिन व्यवहारिक कठिनाइ छ।

प्रश्न: MRP फर्ममा विवरणहरु कसरी भर्ने?

उत्तर: राहदानी विभागको वेवसाइटमा नमूना फर्महरु छन। साथै, त्यहा फर्म कसरी भर्ने भन्ने विस्तृत जानकारी समेत राखिएको हुनाले त्यसका आधारमा फर्म भर्न सकिन्छ।

प्रश्न: के मैले MRP फर्म मेरो कार्यालय/घरको कम्प्युटरमा टाइप, प्रिन्ट गरेर आवेदन गर्न मिल्दैन?

उत्तर: राहदानी फर्म तपाईले आफ्नो कम्प्युटरबाट प्रिन्ट गरेर आवेदन गर्नसक्नु हुन्छ। राजदूतावासले फर्मको साइज मिले नमिलेको, भरिएको विवरण ठिक भए नभएको, फोटोको गुणस्तर, मापदण्ड, साइज र साथमा हुनुपर्ने कागजात भए नभएको मात्र हेर्ने हो फर्म कहा भरिएको हेर्दैन।

प्रश्न: MRP फर्म फोटोकपि गरेर प्रयोग गर्न मिल्छ मिल्दैन?

उत्तर: MRP फर्मको दुवै प्रति कम्प्युटर प्रिन्ट गरेको हुनु पर्दछ।

प्रश्न: म राजदूतावासबाट टाढा वस्छु, के राहदानी आवेदन गर्न आफै राजदूतावास उपस्थित हुनु पर्दछ?

उत्तर: आवश्यक कागजात सहित मापदण्ड पूरा गरि भरिएको MRP फर्म हुलाकबाट पठाएर पनि आवेदन गर्न सकिन्छ। तर सम्भव भए सम्म आफै राजदूतावासमा आएर फर्म वुझाएमा भरिएको विवरणहरु, फोटोको साइज, गुणस्तर आदि मिले नमिलेको तुरुन्त जवाफ दिइने हुनाले सम्भव भए सम्म राजदूतावासमा आफै उपस्थित भएर MRP फर्म वुझाए राम्रो हुन्छ।

प्रश्न: MRP वनेर आउन कति समय लाग्छ?

उत्तर: हाल राजदूतावासले MRP फारम संकलन गरेर राहदानी विभाग, काठमाडौंमा पठाउने भएको हुनाले त्यहाबाट MRP वनेर आउन समान्यतया २ देखि ३ महिना वा यदाकदा त्यो भन्दा वढि पनि लाग्न सक्दछ।

प्रश्न: MRP वनेर आएको जानकारी कसरी पाइन्छ?

उत्तर: राMRP बनेर आएको सूचना राजदूतावासको फेसबुकपेजमा पोस्ट गरिन्छ।

प्रश्न: MRP वनेर आएको जानकारी पाए पछि राहदानी लिन आफै आउनु पर्दछ?

उत्तर : MRP वनेर आएको जानकारी पाएपछि राजदूतावासमा आएर MRP फर्म वुझाउनेहरुले राहदानी दस्तुर तिरेको रसिद र हालको राहदानी लिएर आई आफ्नो राहदानी वुझेर लान सकिन्छ।

प्रश्न: के MRP फर्ममा इमेल र टेलिफोन नंवर उल्लेख गर्न जरुरी छ?

उत्तर: आवश्यक परेको बेलामा सम्पर्क गर्न सकियोस भनेर इमेल र टेलिफोन नम्बर उल्लेख गर्न भनिएको हो।

प्रश्न: म MRP आवेदन गर्न चाहन्छु। तर मेरो अर्को महिना निजी कामको लागि अन्य मुलुक जानुपर्ने हनाले मैले के गर्दा हुन्छ?

उत्तर: राजदूतावासमा आफैं आएर MRP फर्म वुझाउनु हुनेहरुको फर्म राहदानी र नागरिकताको विवरण रुजु गरे पछि तुरुन्त फिर्ता दिइने हुनाले वहांहरुले आफ्नो नियमित काम गर्न सक्नु हुने छ। तर हुलाकबाट फर्म पठाउनेहरुको राहदानी र नागरिकता MRP वनेर आए पछि मात्र पठाइने छ।

प्रश्न: मेरो अन्य मुलकको भिसा हालको राहदानीमा छ। MRP वने पछि त्यो भिसा के हुन्छ?

उत्तर : राहदानी र भिसा अलग अलग चिज भएको हुनाले तपाईको पुरानो राहदानी रद्द भएपनि त्यसमा भएको भिसा आफ्नो अवधि सम्म कायम रहन्छ। तर त्यो भिसा प्रयोग गर्नुपर्ने स्थितिमा भिसा भएको राहदानी र MRP संगसंगै लिएर हिडनुपर्ने हुन्छ।

प्रश्न: मैले मेरो पुरानो भिसा भएको राहदानी र नयां MRP संगसंगै वोकेर हिडन मिल्छ र?

उत्तर: राजदूतावासले तपाईलाई MRP दिने समयमा तपाईको पुरानो राहदानीमा Cancelled Without Prejudice भनेर छाप लगाउछ। जसले गर्दा तपाईको पुरानो राहदानी खारेज भएता पनि त्यहां भित्र भएका विवरण, भिसाहरु यथावत रहेको मान्यता दिन्छ। यो अन्तर्राष्ट्रिय प्रचलन हो।

यात्रा अनुमति पत्र

प्रश्नः म नेपाली नागरिक हु। धेरै अगाडि जापान आएको थिए। म संग, राहदानी र नागरिकताको सक्कल छैन। अव नेपाल र्फकनु पर्यो, के गर्ने?

उत्तरः तपाई आफूसंग भएका कागजातहरु लिएर राजदूतावासमा उपस्थित भएर वा हुलाकबाट निवेदन पठाएमा राजदूतावासले कागजातको अध्ययन, व्यक्तिगत अन्तरवार्ता आदि लिएर एक तर्फि यात्रा अनुमतिपत्र जारी गर्न सक्ने छ। हाललाई यात्रा अनुमतिपत्र जारी गर्दा हुलाक महसूल वाहेक ५००० जापानी येन शुल्क लाग्ने छ।

जापानमा जन्मेका वच्चाहरुको सम्वन्धमा

प्रश्न : मेरो हालै जापानमा छोरा/छोरी जन्मेको छ, वच्चाको MRP वनाउन के गर्नु पर्छ?

उत्तर : MRP बनाउने प्रकृया सबैलाई एउटै हो। बच्चाको राहदानी बनाउन राहदानी आवेदन फाराम (MRP Application Form) र यसैसाथ संलग्न निवेदन फाराम भरी त्यसमा उल्लेख गरिएका कागजात सहित आवेदन गर्नुपर्छ।
जापानमा जन्मेका बच्चाको MRP बनाउनको लागि चाहिने अस्थायी दर्ता निवेदन फारमको लागी याहाँ क्लिक गर्नुहोस।

प्रश्न : वच्चालाई तुरुन्त नेपाल पठाउनुपर्ने हुनाले अन्य व्यवस्था गर्न सकिदैन?

उत्तर : बच्चाको MRP बनाउन चाहिने आवश्यक कागजात सहित आवेदन गरेमा एकतर्फि यात्रा अनुमतीपत्र (One Way Travel Document) जारी गर्न सकिन्छ। सो बनाएपछी बच्चालाई तुरुन्त नेपाल पठाउन सकिन्छ।
जापानमा जन्मेका वच्चाको यात्रा अनुमति पत्रका लागि आवश्यक कागजात तथा निवेदन फारम ।