Press release on Inaugural Program of Visit Nepal Year 2020

प्रेष विज्ञप्ति

नेपाली राजदूतावास, जापानले नेपाल भ्रमण वर्ष २०२० अभियानको आज एक भव्य कार्यक्रमको आयोजना गरी शुभारम्भ गर्‍यो। जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणाज्यूले भ्रमण वर्षका लागि तयार पारिएको लोगो सहितको Banner Display गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमको प्रारम्भमा नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै नेपाली ब्राह्यणहरुले स्वस्तिवाचन गरेका थिए ।

सो कार्यक्रममा महामहिम राजदूतज्यूले स्वागत मन्तव्य दिनुहुँदै नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको हुँदा सबैबाट त्यसको अपेक्षा गरिएको उल्लेख गर्नुभयो। नेपालमा अहिले स्थिर तथा बहूमतको सरकार रहेको र प्रधानमन्त्री सम्माननीय के पी शर्मा ओलीज्यूले नेतृत्वले गर्नुभएको वर्तमान सरकारको `समृद्ध नेपाल सुखी नेपाली` भन्ने आकांक्षालाई सफल बनाउन विभिन्न विकासका कार्यक्रमहरु भैरहेको जानकारी गराउनु भयो । यसै सिलसिलामा नेपाल सरकारले विभिन्न देशका मन्त्रीहरु एवं उच्चपदाधिकारीहरुको समुपस्थितिमा जनवरी १, २०२० का दिन एक भव्य समारोहकाबीच नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको जानकारी गराउनु भयो । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित शुभारम्भ गरिएको यो कार्यक्रम जापानमा पनि वर्षभरी नै विभिन्न कार्यक्रमको आयोजना गरिने उल्लेख गर्नुभयो ।

नेपाल प्राकृति, साँस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश भएको उल्लेख गर्नुहुँदै महामहिम राजदूतज्यूले नेपालमा विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरु, विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्विनी तथा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तालका बारेमा उल्लेख गर्नुहुँदै Lifetime Experience का लागि नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

भरखरैमात्र नेपाल र जापानको ओशाकाबीच सिधा हवाई सेवा सञ्चालन भएको र निकट भविष्यमा काठमाडौं र जापानको नारितामा पनि सिधा हवाई सेवा सञ्चालन गर्ने प्रयास भैरहेको जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जापानको परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री महामहिम NORIHIRO NAKAYAMA ले नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै जापान सरकारकातर्फबाट पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । नेपालमा रहेका जापानी कम्पनीहरुमध्ये धेरैजसो कम्पनीहरु पर्यटन क्षेत्रसँग सम्बन्धित भएको उल्लेख गर्नुहुँदै निजी क्षेत्रलाई पनि नेपाल भ्रमण वर्ष सफल पार्न प्रोत्साहन गरिने जानकारी गराउनु भयो । साथै, उहाँले चाँडै नै आफू नेपाल भ्रमणमा जान लागेको जानकारी गराउनु हुँदै धेरै भन्दा धेरै जापानी नागरिकहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने कुरा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी Video सहितको Power Point प्रस्तुति गरिनुका साथै National Geography का फोटाग्राफर MS. YUMIKO IETAKA ले नेपालका चराचुरुङ्गी तथा वनस्पतिका चित्रहरु समेटिएको Live and Let Live नामक फोटोहरुको प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा नेपाली लोक नृत्यहरु पनि प्रस्तुत गरिनुका साथै उपस्थित पाहुनाहरुलाई Nepali High-Tea को व्यवस्था गरिएको थियो ।

उद्घाटन कार्यक्रममा जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टचार महापाल तथा मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत महामहिम Mashamichi Saigo, नेपालका लागि जापानका पूर्व राजदूतहरु गैह्रआवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदूतावासका पदाधिकारीहरु लगायत ठूलो संख्यामा जापानी नागरिक एवं नेपालीहरुको उपस्थिति रहेको थियो ।

नेपाली राजदूतावास
टोकियो, जापान ।
मितिः २०७६।०९।२२ (२०२०जनवरी ०७)