1. मंजुरीनामा (Affidavit)
विवाह दर्ता, जन्म दर्ता, कागजात दर्ता, सवारी साधनको नामसारी आदिको लागि जापानमा रहनुभएका नेपाली नागरिकहरु विविध कारणवश नेपाल जान असमर्थ भएको अवस्थामा सो कार्यका लागि आवेदकले नेपालमा रहेका परिवार तथा आफन्तजनलाई मंन्जुरी प्रदान गर्न सक्नेछन् । यसको लागि आवेदक स्वयमं राजदूतावासमा उपस्थित भई राजदूत तथा राजदूतावासका कर्मचारीको रोहवरमा मंजुरीनामा कागजमा सही छाप गर्नुपर्नेछ। सहीछाप पश्चात राजदूतावासबाट प्रमाणित गरी सोको सक्कल आवेदकलाई उपलब्ध गराइनेछ । उक्त प्रमाणित मंजुरीनामालाई आवेदकले नेपाल पठाई सोको आधारमा मंजुरीनामा लिने व्यक्तीले आवेदकको तोकिएको कार्य सम्पन्न गरिदिनुहुनेछ । मंजुरीनामाको लागि आवश्यक कागजातः
- रीतपूर्वक लेखिएको निवेदन आवेदन फारम
- मंजुरीनामा लिने र दिने दुवैजनाको नागरिकता प्रमाणपत्र, राहदानी र जाइर्यु कार्डको फोटोकपी
- मंजुरीनामाको विषयसँग सम्बन्धित कागजात (विवाहको प्रमाण, सवारी साधनको व्लु वुक आदि)
- राजस्व दस्तुर जा.ये. १५०००.००
२. राष्ट्रियता कागज (Nationality Paper)
राजदूतावासले नेपाली नागरिकका लागि आवश्यकता अनुसार नेपाली नागरिक हो भन्ने कागज जारी गर्न सक्नेछ ।
आवश्यक कागजातः
- आवेदकको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी ।
- आवेदकको राहदानीको फोटोकपी
- जापानमा जन्मिएको बच्चाको हकमा नेपाली राष्ट्रियता खुल्ने कागजात (नावालक परिचयपत्र, जन्म दर्ता, नेपालको राहदानी), बच्चाको वुवा र आमा दुबै जनाको नागरिकता तथा विवाह दर्ता, जापानको सिटी अफिसबाट जारी भएको जन्मदर्ता र जाइर्यु कार्डको फोटोकपी साथमा राखी निवेदन पठाउन सकिनेछ
- रीतपूर्वक लेखिएको निवेदन आवेदन फारम
- राजस्व दस्तुर जा.ये. ८०००.००
नेपाली राजदूतावास टोकियोबाट राष्ट्रिय परिचयपत्र बनाइदैन।
३. विवाह सम्बन्धी पत्र (Marriage Letter)
जापानमा विवाह गरेका नेपाली नागरिकका लागि राजदूतावासले विवाह सम्बन्धी पत्र जारी गर्न सक्नेछ ।
आवश्यक कागजातः
- आवेदकले जापानको सिटी अफिसमा दर्ता भई मेयरबाट जारी भएको विवाह दर्ता (कोन्तोदोक्ये जुरीसोमेस्यो) को सक्कल र त्यसको अंग्रेजी अनुवाद प्रति,
- श्रीमान्-श्रीमती दुवैजनाको नागरिकता, राहदानी र जाइर्यु कार्डको फोटोकपी,
- रीतपूर्वक लेखिएको निवेदन (निवेदन राजदूतावासको वेभसाइटमा आवेदन फारम)
- राजस्व दस्तुर जा.ये. ८०००.००
- यदी नेपाली नागरिकले जापानी वा अन्य देशका नागरिकसँग विवाह गरेको खण्डमा माथि उल्लिखित कागजातको अतिरिक्त जापान वा अन्य देशबाट जारी राहदानी, रेसिडेन्स कार्ड, ड्राइभिङ्ग लाइसेन्स वा जाइरो कार्डको फोटोकपी साथमा पेश गर्नुपर्नेछ ।
४. हस्ताक्षर रुजु तथा प्रमाणिकरण (Signature Verification)
बैंकिङ्ग कारोवार, व्यावसाय स्थापना तथा अन्य प्रयोजनका लागि आवेदकको हस्ताक्षर र औँठाछापको प्रमाणीकरण गर्नुपर्ने भएमा राजदूतावासले उल्लिखित विवरणहरु प्रमाणिकरण गरिदिन सक्नेछ । यसको लागि आवेदक स्वयमं राजदूतावासमा उपस्थित भई राजदूत तथा राजदूतावासका कर्मचारीको रोहवरमा सही छाप गर्नुपर्नेछ।
आवश्यक कागजातहरुः
- रीतपूर्वक लेखिएको निवेदन (हस्ताक्षर प्रमाणीकरण फारम)
- नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी
- राहदानीको फोटोकपी
- जाइर्यु कार्डको फोटोकपी
- राजस्व दस्तुर जा.ये. ८०००.००
५. नेपाली नागरिकता परित्याग(Renunciation of Nepali Citizenship)
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी देहायबमोजिम व्यवस्था गरिएको छः
(१) कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा सूचना दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्नेछ।
(४) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची-१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।
नेपाली नागरिकता ऐन | Nepali Citizenship Act | नेपाली परित्याग गर्ने निबेदन